Headlines News :
Home » » स्वास्थ्यज्ञान : जाडोमा छाला किन फुट्छ र कसरी जोगाउने ?

स्वास्थ्यज्ञान : जाडोमा छाला किन फुट्छ र कसरी जोगाउने ?

Written By donteatoffthesidewalk on Sunday, November 22, 2015 | 1:27 AM

Gautam-Udaya
विज्ञानको एउटा कोणबाट हेर्दा कुनै पनि मान्छे अर्को मान्छेभन्दा एकदमै फरक देखिन्छ भने, अर्को कोणबाट हेर्दा झन्डै दुरुस्तै । शरीरमा पाइने तत्त्व अथवा जेनेटिक म्याटेरियलका हिसाबले हेर्दा कुनै दुई मान्छेबीच ३० लाखभन्दा बढी भिन्नता हुन्छन् । डिएनएको हिसाबले हेर्दा सबै मान्छे ९९.९ प्रतिशतसम्म उस्तै हुन्छन् । चिम्पान्जी र मान्छेको समेत ९९ प्रतिशत डिएनए मिल्छ ।
शरीरमा हुने यही जेनेटिक म्याटेरियलको भिन्नताका कारण हाम्रो छालाको प्रकारमा पनि भिन्नता हुन्छ । जाडोयाममा हरेक प्रकारको छालामा चिसोको प्रभाव परे पनि प्रभावको मात्रा र किसिम भने फरक–फरक हुन्छन् । त्यसका अतिरिक्त व्यक्तिको खानपान, जीवनचर्या, बानी–व्यवहार र छालाको रंगले समेत व्यक्तिपिच्छे प्रभावको मात्रा फरक पर्छ ।
जाडोका कारण हाम्रो विभिन्न असर देखिन्छन् । जस्तो, छाला खस्रो हुने, चिलाउने हुन्छ । छाला कन्याउँदा पीठोजस्तो सेतो छारो निस्किने, कत्ला उप्किने, नङमा उचेरा जाने हुन्छ । त्यस्तै, ओठ चर्चरी फुट्ने, गाला फुट्ने, कुर्कुच्चा धाँजा नै पर्ने गरी फुट्ने, नाक सुक्खा भई सुत्न गाह्रो हुने, नाथ्रो फुट्ने, घाँटी खस्खसाउने आदि हुन्छ ।
हाम्रा आँखाले देख्न नसके पनि हावामा करिब एक प्रतिशतजति पानीका कणको मात्रा हुन्छ, जुन वातावरणको आर्द्रता अथवा ह्युमिडिटीअनुसार तल–माथि हुन्छ । हावा तातो भयो भने त्यसमा पानीका कणको मात्रा धेरै हुन्छ, चिसो भयो भने कम । चिसो पदार्थ जस्तै ः कोक, बियर आदि हालेका भाँडाको बाहिर पानीका थोपा देखापर्नु पनि यही तथ्यमा आधारित छ । जब वातावरणको तातो हावा चिसो वस्तुको नजिक पुग्छ, तब उक्त वस्तुको चिसोपनका कारण नजिक पर्ने हावा पनि चिसिन गई ग्यास अवस्थामा रहेका पानीका कण तरल रुपमा बदलिन्छन् । तिनै ग्यासबाट तरल अवस्थामा बदलिएका कण हामीले पानीको रुपमा देख्छौं ।
ग्यास अवस्थामा रहेको पानी तरल बनेपछि त्यही रुपमा उड्न सक्दैन । यही कारण जाडोमा गाडीभित्र बसी सास फेर्दा सिसा धुम्म हुने, लेकतिर अथवा हिमालतिर कुहिरो लाग्ने हुन्छ ।
प्रत्येक दिनको मौसमको भविष्यवाणीमा सापेक्षित आर्द्रता अथवा रिलेटिभ ह्युमिडिटी प्रायः फरक हुनुको अर्थ पनि तापक्रमको आधारमा बाहिरी वातावरणको हावामा हुने पानीको मात्रामा हुने फरकपनका कारण हो । मानौं, बाहिरको तापक्रम २० डिग्रिज फरेनहाइट छ र सापेक्षित आर्द्रता ८० प्रतिशत छ । यदि त्यही बाहिरको हावालाई भित्र ल्याई ७० डिग्रिज फरेनहाइटसम्म तताइयो भने उक्त हावाको सापेक्षित आर्द्रता मात्र १५ प्रतिशत हुन्छ । त्यसैले सापेक्षित आर्द्रता जति कम हुन्छ, हावा त्यति नै सुक्खा हुन्छ । जाडो समयमा बाहिरको वातावरण ह्युमिड भए पनि जब हावा हाम्रो घरभित्र आइपुग्छ, त्यो तात्छ, अनि सुक्खा हुन्छ ।
dry-skin(2)
बाहिरको वातावरण त हामीले बदल्न सक्दैनौँ, तर केही सावधानी अपनाइयो भने र सही वस्तुको सही इन्तजाम गरियो भने चिसोको असरबाट छालालाई धेरै हदसम्म बचाउन सकिन्छ ।
जाडोका बेला हामी प्रायःले एकदम तातो पानीले धेरैबेर नुहाउँछौं, हट स्प्रिङ जान्छौं, एयर कन्डिसनर घन्काएर वा चर्को हिटर तापेरभित्र बस्छौं, ऊनीका बाक्ला कपडा लगाउँछौँ, क्याफिनजन्य र अल्कोहलयुक्त पदार्थ पिउँछौं, घाम तापेर बस्छौं आदि । मजा त आउँछ यसो गर्दा, तर यी सबै कार्य स्वस्थता र अझ विशेषतः छालाको स्वास्थ्य र सुरक्षाका लागि एकदम हानिकारक हुन्छन् ।
हाम्रो छालामा यसलाई स्वस्थ राख्ने र जोगाइराख्ने चिल्लो र ओसिलोपन अथवा मोइस्चर बोकेको पातलो सतह हुन्छ । जाडोयामको सुक्खा हावाले यो सतहलाई सुक्खा बनाइदिन्छ । सुक्खा भएको बेला चिसो हावाले हान्दा, हिटर ताप्दा, एयर कन्डिसनर लगाउँदा, झनै सुक्खा हुन गई फुट्न थाल्छ । जाडोमा यसै त पानी कम पिइन्छ, त्यसमाथि झन् यस्ता कार्यले शरीरलाई झनै सुक्खा बनाउँछन्, जसको असर छालामा पनि चर्को गरी पर्छ ।
तसर्थ, चिसोमा निस्किँदा पूरै शरीर छोप्ने गरी लुगा लगाउनुको साथै पन्जा, गलबन्दी, मास्क लगाउनुपर्छ । जाडोमा तातोको लोभले हामी निस्फिक्री घाममा बस्छौं । त्यसो गर्नु हुँदैन । सूर्यको अल्ट्राभायोलेट नामक किरणहरू, जसलाई छोटकरीमा युभी रेइज पनि भनिन्छ, तिनीहरूको तापक्रमसँग सम्बन्ध हुँदैन । जाडोमा पनि यस्ता किरणको छालामा त्यतिकै प्रभाव हुन्छ । त्यसैले जाडोमा पनि घाममा जाँदा गर्मीमा जस्तै गरी सनक्रिम लगाउनुपर्छ ।
शरीरमा टिमिक्क कसिने गरी कपडा लगाउनु हुँदैन । एक किसिमले भन्दा छालाले पनि श्वास फेर्नुपर्छ । उनी अथवा पोलिस्टरका कपडा लगाउँदा छालामा टाँसिने गरी लगाउनु हुँदैन । यस्ता कपडाले छालाको चिल्लोपन सोस्छन् र चिलाउने, बिबिरा उठ्ने, अनि ठाउँठाउँमा रागिने हुन्छ । भित्र सुतीको कपडा लगाई त्यसबाहिर यस्ता कपडा लगाउनुपर्छ ।
हिटर सकभर ताप्नु हुँदैन, तापे पनि एकछिन ताप्ने अनि बन्द गरिहाल्ने गर्नुपर्छ । एयर कन्डिसनर पनि सकभर लगाउनु हुँदैन र लगाउँदा ह्युमिडीफायर पनि साथसाथै लगाउनुपर्छ । एयरकन्डिसनरको सीधा पर्नेगरी बस्नु हुँदैन । पिउँदा मजा आउने छुट्टै कुरा हो, सकभर क्याफिनजन्य र अल्कोहलयुक्त पदार्थ पनि पिउनु हुँदैन । बरु प्रशस्त सागसब्जी र सुपजन्य खाना, तातो पानी, ग्रिन–टी आदि धेरैपटक खानुपर्छ ।
जाडोयाममा धेरै तातो पानीले नुहाउनु हुँदैन, अनि धेरैबेर पनि नुहाउनु हुँदैन किनकि तातोपानीले सुक्खा छालाको चिल्लोपन सजिलै पखालिदिन्छ । पखाल्न त गर्मीका बेला पनि पखाल्छ, तर गर्मीमा छालाको चिल्लोपन तुरुन्तै पूरा हुन सक्छ भने जाडोमा एकदम लामो समय लाग्छ । तसर्थ, जाडोमा मनतातो पानीले नुहाउनुपर्छ र छोटो समय नुहाउनुपर्छ । धेरै रासायनिक पदार्थ मिसाएर बास्नादार बनाइएका साबुन र सेम्पुले होइन कि चिल्लोपन बढी हुने र प्राकृतिक तबरले बनाइएकाले नुहाउनुपर्छ । नुहाउनुभन्दा पहिले होइन कि नुहाइसकेपछि तेल, क्रिम, लोसन जे छ, लगाइहाल्नुपर्छ ।
तेलमा जैतुन अथवा ओलिभको तेल सबभन्दा राम्रो हुन्छ भने क्रिम र लोसनमा अल्कोहल नमिसिएको राम्रो हुन्छ । ओठमा पनि नियमित लिप बाम लगाउनुपर्छ । फुटेको ओठ चाट्नु हुँदैन, त्यसो गर्दा झनै असर पर्छ ।
बजारिया घटिया बिनाब्रान्डका क्रिम लगाउनुभन्दा भेसलिन, नौनी वा डाल्डा नै दल्नु राम्रो हुन्छ । चिल्लो लगाउँदा पनि छाला पूरै फुस्रो भइसकेपछि वा फुटेपछि होइन कि चिल्लो छँदै लगाउनुपर्छ, अनि लपक्कै लगाउनुपर्छ ।
- 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. OK NEPAL.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger