Headlines News :
Home » » गीतको कथा : त्यो गीत सुन्नेहरु नरोएका कमै हुन्थे

गीतको कथा : त्यो गीत सुन्नेहरु नरोएका कमै हुन्थे

Written By donteatoffthesidewalk on Monday, November 23, 2015 | 1:24 AM

मैले धेरै गीत लेखेँ, गाएँ । तर सिमली छाया गीतले मलाई फराकिलो परिचय दियो । अहिले पनि कुनै कार्यक्रममा जाँदा यो गीत नसुनाए जीवन शर्माको गीत सुनेजस्तो नै लागेन भन्नेहरू भेटेको छु । त्यसैले यो मैले स्टेजमा धेरै गाएको गीतमध्येमा पर्छ । ०३९ सालतिर हुनुपर्छ । एकातिर गितार र अर्कोतिर झोला भिरेर काठमाडौबाट घर बागलुङतिर हिडें । पोखरादेखि स्याङ्जाको नागडाँडासम्म गाडी जान्थ्यो । त्यहा“बाट कार्कीनेटाको उकालो चढेर ओरालो झर्दा कालीगण्डकी पुगिन्छ । गण्डकी तरेर अर्को दिन बल्ल बागलुङ पुगिन्थ्यो । यात्रामा कार्कीनेटाको उकालो काल कष्टमय हुन्थ्यो । काठमाडौबाट त्यहाँ पुग्न नै एक दिन लाग्थ्यो । त्यसैले थाकिन्थ्यो । थाकेको बेला घाममा झण्डै तीन घन्टा ठाडो उकालो हिड्नुपथ्र्यो । त्यसैले मानिसहरुले भन्थे, ‘कार्कीनेटा उक्लन पाए त सजिलै घर पुगिन्थ्यो ।’ त्यो उकालोमा एउटा चौतारी थियो । अहिले छ कि छैन, थाहा छैन । धेरै भयो त्यो बाटो नहिडेको । त्यहाँ मैले एकजना भरिया भेटें । गरिवको निम्ति लड्नुपर्छ भन्ने राजनीतिक चेत जागिसकेको थियो ममा । त्यसैले निसहाय, गरिव मान्छे भेट्यो भने निकै माया लाग्थ्यो । नजिक हुन र कुरा गर्न मन लाग्थ्यो । उनीहरुको कुरा सुन्न र आफ्नो कुरा उनीहरुलाई भन्न मन लाग्थ्यो । त्यसैले उनीनजिकै बसें । तर उनी त तर्किएर पर पो सरे । अलिअलि भएको पैसा पनि लुट्ला भन्ने सोचे कि जस्तो लाग्यो । तैपनि केही कुरा गर्न खोजें । कुरा गर्न पनि मानेनन् । निकै प्रयत्नपछि मसँग अलिअलि बोल्न थाले । खोटाङका राई रहेछन् । घर नगएको कयौं बर्ष भइसकेको रहेछ । उनले भने, ‘छोराहरू कोही असमतिर गए, छोरीहरू पनि पोइल गए । भारी बोकेर हिंड्छु । जहाँ पुग्यो त्यही बस्छु, खान्छु ।’ उनकी श्रीमतीको पनि मृत्यु भइरसकेको रहेछ । श्रीमती मरेपछि घर छोडेर हिडेका रहेछन् । ‘ऊ छँदा दुःख भए पनि पकाएर खान दिन्थी । अब त घर गयो दिनभरी गलेर, कोही छैन । के जानु घर’ यसो भन्दै गर्दा उनको गला अवरुद्ध भयो । टोपी झिकेर आँशु पुछे । उनको हृदयविदारक कुरा सुन्दा मेरो पनि आँशु आयो । निकैबेर कुरा गरेपछि म पनि जानु थियो । हिडें । माथि गएर हेर्दा उनी भारी बोकेर लुख्रुक–लुख्रुक उकालो चढ्दै थिए । एकैछिन हेरिरहें । सिमलीको छाया परेको ठाउँमा भारी अड्याएर एकछिन अडिए र फेरि हिंडे । उनी छेल परे । म अर्को चौतारीमा पुगें । त्यहा“सम्म पुग्दा मेरो मनमा ‘सिमली छाया’ गीत बनिसकेको थियो । सरसर्ती डायरीमा लेखें । त्यही शब्द हो । पछि पनि एकशब्द काँटछाँट गरिएन । भाका पनि तयार भइसकेको थियो मनमा । भोलिपल्ट पर्वत जिल्लाको फलेबासमाथि सल्लेरी भन्ने ठाउँको चौतारीमा बसेर त्यो गीत गाएँ । कसैलाई सुनाउन गाएको थिइनँ, तर गीत गाइसक्दा नुन लिन आएका एकजना मान्छे रोइरहेका रहेछन् । उनले आँशु पुछ्दै भने, ‘तिम्रो गीत साह्रै घत पर्यो ।’ त्यसपछि यो गीत विभिन्न गाउ“मा गाएँ । पञ्चायतको बेला बाहिर गाउन पाइँदैनथ्यो । मझेरीमा टुकी बालेर गाइयो । गोठहरुमा गाइयो । राती स्कूलका चौरहरूमा गाइयो । गीत सुन्दा बुढाबुढी त रुन्थे नै, भावुक युवाहरू पनि रुन्थे । बहुदल आएपछि भने म्युजिक नेपालले मेरा गीतहरू रेकर्ड गरेर बजारमा ल्यायो– रक्तिम भाग १ र २ को नाममा । त्यसमा समेटिएका २२ गीतमा यो पनि छ । क्यासेट हजारौं कपी बिक्रि भएका थिए । बुटवलमा त ठेलागाडामा राखेरसमेत बिक्रि गरियो भन्ने सुनें । अहिले यसको भिडियो पनि बनेको छ, बज्ने गरेको छ । त्यो भने संकटकालका बेलामा भारतको सिम्लामा गएर निर्माण गरिएको हो । भिज्युअलमा जुन जीवन्त अभिनय देखिएको छ । त्यो कुनै तालिमप्राप्त कलाकारले गरेको अभिनय होइन । वास्तविक जीवनमा भारी बोक्ने मान्छे नै हुन् । उनलाई नै भारी बोक्न लगाएर खिचिएको हो । - 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. OK NEPAL.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger