Headlines News :
Home » » मधेशमा जे सुनियो, जे बुझियो

मधेशमा जे सुनियो, जे बुझियो

Written By donteatoffthesidewalk on Wednesday, November 11, 2015 | 1:24 AM

KHAGENDRA-SANGRAULA-copy_20100913090213२०६४ को मधेश विद्रोहमा नागरिक आन्दोलनको टोली थलैमा गएर यथार्थको नाडी छाम्न मधेश झरेको थियो । हाम्रो टोलीनेता थिए डा. देवेन्द्रराज पाण्डे । आन्दोलनमा अश्रुग्याँस, लाठी र गोलीको अन्धाधुन्ध क्रीडाबीच आन्दोलनकारीको आक्रोशको पारो नापियो र प्रहरीको ज्यादती हेरियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए । मधेशबाट फर्केपछि डा. पाण्डे र म कोइरालालाई आन्दोलनको यथार्थ अवगत गराउन बालुवाटार पुग्यौँ । गुत्थ फुलेका कोइरालाले असन्तोषको धुवाँ ओकल्दै भने— ‘मधेशमा अगो झोसेर आउनु भो, हैन ?’ हामी स्तव्ध भएर फक्र्यौँ । अलिदिनपछि उनै कोइरालाको कमाण्डमा मधेश विद्रोहले उठाएको संघीयताको मागलाई विधिवत्रुपले अन्तरिम संविधानमा प्रवेश गराइयो ।
चालू मधेश आन्दोलनमा म फेरि मधेश झरेँ । झर्न सजिलो थिएन । माथि पहाडमा मौसमी राष्ट्रवादको बाढी उर्लिएका बेला मधेश झर्दा राष्ट्रवादी पहिचानमा दाग लाग्ने खतरा थियो । मौसमी राष्ट्रवादको चश्माले हेर्दा मधेश आन्दोलनमा विखण्डनको अनिष्ट दृश्य दृष्टिगोचर हुन्थ्यो । तथापि नागरिक कर्तव्यबोध गर्दै म लागेँ ओरालो । मलाई तल डोर्‍याउने अगुवा पमत्र रामरिझन यादव थिए । उनले पिताजीको सम्झनामा मधेशी छोरीहरुका लागि छात्रवृत्तिको राखेका गरेका रहेछन् । हो त्यही छात्रवृत्ति वितरण मेरो मधेश झर्ने निहुँ बन्यो । म मोटरसाइकलमा हुइँकिँदै सिरहा, सप्तरी र धनुषा घुमेँ । मैले कोठामा बुद्धिजीवीहरुका विचार सुनेँ, सडकसभामा अग्निवर्षी भाषणहरु श्रवण गरेँ र सडक किनारमा उभिएर गतिमान् आन्दोलनकारीहरुका उत्ताल आवेग र आक्रोशले भरिपूर्ण अनुहारहरु पढेँ । त्यत्रो दमन र त्यतिका हत्याहरुमाझ मधेश आन्दोलन यतिका दिनसम्म टिक्नुको रहस्य के हो ? आन्दोलनकारीहरु किन टाउका–टाउकामा बेचैनीयुक्त आक्रोशका ससाना बम बोकेर हिँडिरहेका हुन् ? यो दिर्घायु आन्दोलनको गर्भमा के छ ? मधेश घुम्दा आफूले देखिजानेका र सुनिजानेका कुराका आधारमा म यहाँ आफ्नो अवलोकलन र अनुभवको कथा सुनाउँछु ।
उदास र उजाड बर्दिबास
बाइरोटको बोटोमा टाटा सुमोमा चढेर पुगियो बर्सिबास । उदास र उजाड बर्दिबास । गर्नलाई काम छैन, हातमा दाम छैन, मन रित्तो छ । बर्दीबास पूर्व आन्दोलन छ, बर्दिबास पश्चिम सडक सुनसान छ । सडक किनारै–किनारका पहाडी बन्धुहरु न आन्दोलनमा छन् न विरोधमा । तिनको एकमात्र चिन्ता छ— साम्प्रदायिक हिंसा नभड्कियोस्, आफ्नो चर्मरक्षा होस् । हामी हाजिर भएको ग्याँसविनाको चिया पसलको शो केश रित्तो थियो । साहुनीले भनिन्— पकाउनु नपर्ने कोक छ, अरु सबै शून्य । धन्न सडककिनारमा दाउराले पकाएको चिया खान पाइयो । सडकमा पूर्व र पश्चिम दुबैतिर फर्केर माखा मार्ने धूनमा रहेका ट्रक र बसको लम्बेतान लामबन्दी थियो । कुरैकुरामा कुरा बुझियो— आन्दोलनकारी दिवाचर रहेछन्, राज्य निशाचर । फाटफुट मोटरसाइकल कालो झण्डा हल्लाउँदै गुडिरहेका थिए । कालो झण्डा रहेछ आन्दोलनकालीन रक्षाकवच । राति ११/१२ बजे भूमिगत र भयभीत राज्य अन्धकारको बर्को ओडेर बन्दुकको आडमा वाहनहरु पूर्व र पश्चिम चलान गर्दो रहेछ ।
मोटरसाइकलको तुफानी यात्रा शुरु भयो । म चन्द्रेश्वर पूर्वेको मोटरसाइकलमा चढेँ, युग पाठक र रामरिझन यादव रामकुमार महतोको मोटरसाइकलमा । रिझनको रायमा विषम परिस्थितिमा पेट्रोल किफायत गर्ने जुक्ती हो रे त्यो एकवाहनमा तीन जन । केही अगाडि मेरा सारथीले एक बोतल पेट्रोल किने । परिचित मित्रले मित्रसँग लिटरको रु. ३०० असुले । ढल्केबरमा सडकभरि छरिएका शीशाका टुक्राले अघिल्लो मधेश यात्राको सम्झना गरायो । त्यहीँनेर त हो आन्दोलनकारीको लठ्ठीले डा. पाण्डे र मेरा थाप्ला झण्डै नकुच्चिएका र आन्दोलनकारीको ढङ्गोले विष्णु निष्ठुरी झण्डै शहीद नभएका †
मिर्चैया पुग्नु के थियो आन्दोलनकारीको सानो टोलीले बाटो छेक्यो । टोली आक्रोशको उच्चतम् विन्दुमा थियो । ‘सप्पै पहाडे उस्तै हुन्, उतै फर्क ।’ अग्ला र छरिता टोली कमाण्डर कड्किए । हाम्रो निवेदन र तर्क परास्त भयो । हामीले दायाँतिर खेतका आलीको चोरबाटो समात्यौँ । बृद्ध नितम्बलाई रोटी बनाउँदै र ढाड दु:खाउँदै केही हप्ताअघि कैलालीको र अहिले मधेशको घुमघाममा जे बुझियो, बुँदागत रुपमा त्यो यस प्रकार छ ।
Terai-Madhesh-Protest-700-1मागको हैसियत–माथि उच्च, तल न्यून
मस्यौदा संविधान माथि हिमाल–पहाडमा पनि र तल तराई–मधेशमा पनि असन्तुष्टिको कारक बन्यो । असन्तुष्ट जनहरु आ–आफ्ना मागको बिस्कुन लगाएर सडकमा उत्रिए । राज्यका हर्ताकर्ताका दृष्टिमा माथि र तलका मागको हैसियत उच्च र न्यून देखियो । माथि बागलुङ, सुर्खेत र जुम्लाका माग विना वार्ता, विना आलटाल र विना दमन झटपट पूरा गरिए । तल थारु, मधेशी र अन्यहरुका माग उपेक्षा, आलटाल र दमनको शिकार बन्न पुगे । माथि पहाडमा निषेधाज्ञा तोड्दा आन्दोलनकारीलाई बढीमा पानीका फोहराले तर्साइयो, तल तराई–मधेशमा उही निषेधाज्ञा तोड्दा आन्दोलनकारीलाई गोली दागियो, त्यो पनि घुँडामुनि होइन, छाती र टाउका ताकीताकी । माथि र तलका समान प्रकृतिका मागको हैसियतमात्र फरक नभई मागकर्ताका क्रियाकलापप्रति राज्यको दण्डात्मक प्रतिक्रिया पनि फरक भयो । राज्यका कर्ताहरुको माथि र तलप्रतिको यो विभेदकारी दृष्टि र व्यवहार तलका उपेक्षित जनहरुका आहत चित्तमा साह्रै बिझायो । राज्यका दृष्टिमा ती सदाझैँ न्यून हैसियत भएका पराई ठहरिए । त्यसैले राज्यबाट तिनले फेरि पनि उपेक्षा र वञ्चनाको निर्मम उपहार पाए । र, संविधानसभाबाट लेखिने संविधानमा पहिचान, हक र प्रतिष्ठा प्राप्त गर्ने तिनका आकांक्षामा फेरि पनि ऐँठनकारी ठेस लाग्यो ।
मानिसको मूल्य—माथि बढी, तल घटी
टीकापुरको वीभत्स घटना राज्यद्वारा थारु समुदायमाथि इतिहासभरि गरिएको विभेद, वहिष्करण र वञ्चनाबाट सञ्चित आक्रोशको उग्रतम् प्रतिक्रिया थियो । घटनाको ठीकअघि आन्दोलनरत थारु समुदाय प्रहरीबल र अखण्डमार्गी बन्धुहरुको घेराउ, लखेटाइ र उपहासको अखण्ड शिकार बनेको थियो । आफ्ना माग पूरा हुँदा अखण्डमार्गी पक्ष विजयको उन्मादमा थियो, आफ्ना माग पूरा नहुँदा थारु समुदाय मर्माहत भयो । थारु समुदायका विरोध प्रदर्शनहरुलाई दुर्भावका कारकका रुपमा चित्रण गर्दै अखण्डमार्गीद्वारा सद्भाव जुलुसहरु निकालिए । थारुजनका आफन्तको शवयात्राका बाटाहरु छेकिए । अखण्डको विजय उत्सवमा तामसी मोटरसाइकल र्‍याली निकालेर थारु समुदायका हृदयको चहर्‍याइरहेको घाउमा नूनचुक थपियो । थारु समुदायको धैर्यको बाँध टुट्यो र टीकपुरको अप्रिय घटना घट्यो । त्यो घटना आक्रोशित थारु समुदयद्वारा पहाडी समुदामाथि लक्षित थिएन । त्यो त केवल विभेदकारी र असहष्ण्ुिा सत्ताको प्रत्यक्ष प्रतीकका रुपमा उपस्थित प्रहरीहरुमाथि लक्षित थियो । कर्तव्यपालनाको क्रममा रहेका प्रहरीहरु दुर्भाग्यवश सत्ताको प्रतीकका रुपमा आन्दोलनकारीका निशाना बने । विभेदबाट उत्पन्न आक्रोशको कारक सत्ता थियो, बबुरा प्रहरी घानमा परे ।
सत्तावृत्त र मिडियामा परिणामको चर्चा भयो, कारणतर्फ आँखा चिम्लिइयो । थारु समुदायलाई राक्षसका रुपमा चित्रण गरियो र जीवन गुमाउने प्रहरीहरुमाथि आँसुको असीम वर्षा भयो । तथ्यको पुच्छर समातियो, तथ्यको शिर र गिँडको पर्बाह गरिएन । घटनापछिको कफ्र्यूकालमा थारु समुदायका घरहरुमा तोडफोड भयो, पसलहरु लुटिए वा आगो लगाइए, महिलाहरुमाथि दुव्र्यवहार गरियो । कफ्र्यूमाझ त्यो वितण्डा र विनाशको कर्ता को थियो ? त्यसलाई संरक्षण र पुठ दिने को थियो ? सत्तावृत्त र मिडया यसबारे मौनप्राय: रहे । मानौँ थारु समुदाय त्यस्तो राक्षस हो जसलाई यो सत्ता र यसका आफन्तहरुले जे गरे पनि न्यायोचित हुन्छ ।
birgunj (7)टीकापुर घटनामा एक निर्दोष पहाडी बालकको ज्यान गयो । र, सत्तावृत्त र मिडियामा ती बालकको जीवनहरणप्रति करुणाको अजस्र वर्षा भयो । रुपन्देहीमा प्रहरीका हातबाट एक निर्दोष मधेशी बालकको जीवन हरण भयो । तर सत्तावृत्त र मिडियासँग ती बालकको नाउँमा चुहाउन एक थोपो आँसु पनि भएन । मारिने दुबै बालक थिए । दुबै नेपाली थिए । दुबै अबोध थिए । तर उद्भव, वर्ण र भूगोलका हिसाबले तिनका जीवनको मूल्य आनका तान घटीबढी हुनगयो । एउटाको मूल्य असीमित, अर्काको मूल्य शून्य । महोत्तरीमा आन्दोलनकारीद्वारा एक असईको ज्यान गयो । त्यसै दिन मधेशमा प्रहरीका हातबाट पाँचजना आन्दोलनकारीको ज्यान गएको थियो । सत्तावृत्त र मिडियामा ती प्रहरीप्रति करुणाको अजस्र वर्षा भयो । तर मृत पाँच आन्दोलनकारी लगभग बेखबर रहे । हेर्ने आँखा उनै हुन् । घटनाको प्रकृति उस्तै हो । तर परिणामप्रतिको यो प्रतिक्रिया कति विभेदकारी †
मोदी जिन्दावाद— कहिले माथि, कहिले तल
मोदीको नामसँगै स्मृतिको भित्तोमा संविधानसभाको दासवत् दृश्य सजीव भएर आउँछ । डायसमा चतुर मोदी सम्मोहक भाषण गर्दैथिए, श्रोतादीर्घामा नेता र सभासद्हरु म्यादी राष्ट्रवादको चेतलाई चित्तमै थाती राखेर भक्ति मुद्रामा फुट्ने गरी टेबुल ठोक्दैथिए । आफ्नो भाषणमा अभिनेता मोदीले कृपाको वर्षा गरे । तिनले भने—नेपाल सार्वभौमसत्तासम्पन्न देश हो । र, भने— बुद्ध नेपालमा जन्मेका हुन् । धर्मनिरपेक्षताबारे मौन रहे पनि मोदीले उदारतासाथ गणतन्त्रको उच्चारण गरिदिए । आत्महीन राष्ट्रका लागि मोदीका यी वचन नेपालको नेपालत्वको आधिकारिक प्रमाणपत्र बने । यसको अतिरिक्त, मोदीले बन्न लागेको संविधान सय वर्षको दूरदर्शितासाथ ऋषि मनले मनन गरी लेखिएको द्वन्द्व निराकरण र सामाजिक सामञ्जस्यको लिखत हुनुपर्ने सल्लाह पनि दिइहाले । र, सत्तावृत्त र मिडिया दुबैमा मोदीको ‘जिन्दावाद’ गुन्जियो ।
जब कतै गुप्त खोपीमा १६ बुँदे स्रेस्ता रचियो, मौसमी राष्ट्रवाद एकाएक जागृत भयो र मोदीको ‘जिन्दावाद’मा स्खलन शुरु भयो । सोह्रबुँदेले मधेशी मोर्चालाई संविधान निर्माण प्रक्रियाबाट विष्मयकारी ढङ्गले पाखा लगायो । र, संविधानसम्बन्धी दिव्य मोदीवाणी उपेक्षाको किनारातिर हुत्तिँदै गयो । तथापि मोदीले भनिरहे— संख्याको मात्र भर नपर, पक्षहरुको संलग्नता र सहमतिमा ध्यान देऊ । हतार नगर, धैर्य गर, मधेशका आकांक्षाहरुलाई संविधानमा सम्मान गर । चोटबोटो हिँडेर संविधान बनाइरहेका कर्ताहरुमा न कसैका कुरा सुन्ने धैर्य थियो न त तिनलाई लेसमात्र पर्बाह नै थियो । कृपाको याचना गर्न दिल्लीधाम धाउनेहरुले मोदीसँग केही वाचा गरेका हुँदा हुन् । ठूल्दाइसँग सान्भाइले गरेको वाचा हो, त्यसको पालाना कसो नहोला ? शायद मोदी आश्वस्त मुद्रामा अन्तिम घडीसम्म त्यो वाचामा झुन्डिएर प्रतिक्षारत रहे । जब संविधान हस्ताक्षर गर्ने क्षणमा पुग्नैलाग्यो, शायद मोदीलाई आफू छक्किएको महसुस भयो । र, क्रूद्ध र असंयमित दिल्ली कूटनीतिका यावत् मानक र मर्यादाहरुलाई कुल्चिँदै नग्न भेषमा हस्तक्षेप गर्न आइलाग्यो । आन्दोलनकारी मोर्चा र न्यायप्रेमी जनगणले संविधानलाई अलिदिन थाती राखेर द्वन्द्व समाधानका जुक्ती खोज्न निवेदन गर्दा संविधानका कर्ताहरु आफ्नै हठको यात्रामा गतिमान् थिए । तर जब दिल्ली आक्रामक मुद्रामा आइलाग्यो, मौसमी राष्ट्रवादलाई बिसाएर दुई दिन संविधानलाई विश्राम दिइयो । ढिलो भइसकेको थियो, दिल्लीको हस्तक्षेपले हावा खायो ।
संविधान निर्माताहरुको आकलन हुँदो हो— भूकम्पले लोकको मन–मानस क्षतविक्षत भएको छ । यस्तोमा जसरी र जस्तो संविधान बनाए पनि उति ठूलो विवाद र प्रतिकारविना नै त्यो ट्याक्क स्वीकृत हुनेछ । तर थारु, मधेशी, लिम्बू, तमु र मगर समुदाय असहमति र विरोधमा उठे । संविधानका कर्ताहरुको अर्कोे अँकाइ हुँदो हो— दमनको उपकरणद्वरा आन्दोलनलाई सहजै निस्तेज पार्न सकिन्छ । र, यता संविधान लेखिँदै गयो, उता थरुहट र मधेशमा आन्दोलनकारीको रगत बग्दैगयो । जति रगत बग्यो, राज्यका कर्ताहरुको अपेक्षाविपरीत आन्दोलनको आकार र राप–ताप उति नै बढ्दै गयो । तथापि रक्तपातबीच सुझाव सङ्कलनको अभिनय गरियो, रक्तपातबीच संविधान जारी गरियो । मधेश झनै अशान्त भयो, दमनचक्र झनै तीव्र बन्यो । र, दिल्लीले हाकाहकी मधेशको मुद्दामा हात लाग्यो । हिजो माथि हिमवत् खण्डमा गुन्जिएको ‘मोदी जिन्दावाद’ अब तल मैदानी मधेशमा सर्‍यो ।
नजिकैबाट मधेश आन्दोलनलाई नियाल्दा दुईवटा नाम घरिघरि सुनिए— केपी ओली र पृष्पकमल दाहाल । आन्दोलनको विस्तारभरि टुक्काविषारदी केपीका तीन उद्गार नामी रहेछन् । मानव साङ्लो माखे साङ्लो हो, आन्दोलनका शहीद कुहेर झर्ने आँपसरह हुन् र वारिको समस्त समतल भाग दाबी गर्नेले पारिका विहार–उत्तर प्रदेश पनि दाबी गरे भयो नि ।
काठमाडौँबाट मधेशको ‘मोदी जिन्दावाद’ सुन्दा मलाई ननिको र अप्रिय लागेको थियो । मौसमी राष्ट्रवादका कानले सुन्दा त त्यसमा अराष्ट्रवाद र विखण्डनको दुर्गन्ध आएको हुँदो हो । त्यसो त यता हिमवत् खण्डको ‘मोदी जिन्दावाद’ पनि मलाई निको र प्रिय लागेको होइन । थलैमा गएर मधेश आन्दोलनको यथार्थ बुझ्न जब म मधेश झरेँ, ‘मोदी जिन्दावाद’को अर्कै अर्थ लाग्यो । आन्दोलनमाथि राज्यको दमन अति भएपछि शायद निरुपाय र हताश मधेशी मोर्चाले दिल्लीछेउ गुनासो गर्‍यो— रोटी–बेटीको नाताका हामी यसरी मारिँदा हजूर कति दिन रमिता हेरेरे बस्ने हो ? प्रत्युत्तरमा शायद दिल्ली संवेदित भयो र मधेश आन्दोलनप्रति समर्थनको हात अघि बढायो । भुक्तभोगी मधेशीहरु गहभरि आँसु लिएर भन्छन्— त्यसपछि मधेशमा मान्छे मारिएन । र, पीडित मधेशीहरुका दृष्टिमा राज्य जीवन–भक्षक ठहरियो, मोदी जीवन–रक्षक मानिए । बिडम्बनावश, स्वदेशी जनले घरिघरि पुकारा गर्दा राज्यका कर्ताहरुमा लेसमात्र पनि करुणा जागृत भएन, तर दिल्लीको इसाराले तिनलाई नतमस्तक तुल्यायो । मधेशको ‘मोदी जिन्दावाद’ प्रकारान्तरले हिमवत्खण्डका कर्ताहरुको मुर्दावाद हो । यो मुर्दावादका कारक र प्रेरक यी कर्ताहरु स्वयं हुन् ।
केपीको उपहास, पुष्पको विश्वासघात
नजिकैबाट मधेश आन्दोलनलाई नियाल्दा दुईवटा नाम घरिघरि सुनिए— केपी ओली र पृष्पकमल दाहाल । आन्दोलनको विस्तारभरि टुक्काविषारदी केपीका तीन उद्गार नामी रहेछन् । मानव साङ्लो माखे साङ्लो हो, आन्दोलनका शहीद कुहेर झर्ने आँपसरह हुन् र वारिको समस्त समतल भाग दाबी गर्नेले पारिका विहार–उत्तर प्रदेश पनि दाबी गरे भयो नि । केपीका यी कटाक्षबाट मधेशी जनले असीम उपहास र अपमानबोध गरेका छन् । उता पुष्पकमलका दुईवटा भनाइ मधेशको आकाशभरि गुञ्जिरहेका छन् । पहिलो, ‘मधेशसँग मेरो लभ पर्‍यो, प्राण छउन्जेल यो छुट्दैन’ । र दोस्रो, ‘मधेश मुक्त नहुन्जेल म आन्दोलन छाड्दिन, बरु मर्न तयार छु ।’ मधेशी मोर्चलाई लत्याउँदै प्रतिपक्षको मैदान त्यागेर सोह्रबुँदेसामु आत्मसमर्पण गर्दा पुष्पकमलले यी दुबै भनाइ बिर्से । मधेशी आन्दोलनकारीका दृष्टिमा यो पुष्पकमलको आफ्नै वाचाप्रतिको र उत्पीडित मधेशीहरुप्रतिको विश्वासघात हो । आफूअनुकूल संविधान बनाएर जब उनै केपी र पुष्प सत्ताधारी बने, आहत मधेश झनै तर्सियो । यिनले अधिकार होइन, केवल दमनको उपहार पो दिने हुन् कि † सशंकित आन्दोलनकारीहरुका चित्तमा यस्तो भाव जाग्यो, आन्दोलनकारी झनै उग्र बने र आन्दोलनको आकार झनै विस्तारित भयो । र, आन्दोलनमा सर्वत्र केपी र पुष्पका पुत्ला जल्नथाले ।
अभी नहीं तो कभी नही
अघिल्लो मधेश विद्रोहमा ५४ जना आन्दोलनकारीले सहादत प्राप्त गरेका थिए । त्यो घाउमा खाटा बसिसकेका छैनन् । अहिले मारिनेको संख्या ५० नाघिसक्यो । र, मधेश पीडामय आक्रोशले छट्पटाइरहेको छ । आन्दोलनकारीहरु सोध्छन्— छातीभरि आँसु लिएर नयाँनयाँ शहीदलाई श्रद्धाञ्जलि दिइरहन हामी किन अभिशप्त ? के पहाडी राव्यद्वारा मारिनु नै हाम्रो नियति हो ? गए ज्यान जाओस्, अब आन्दोलन छाडिँदैन । अभी नहीं तो कभी नहीं †
‘अभी नहीं तो कभी नहीं’को संकल्पका साथ सिंगै मधेश आन्दोलनरत छ । उद्योगी र व्यापारी, शिक्षक र प्रोफेसर, सरकारी जागिरे र अन्य पेशाकर्मी, मारवाडीगण र जनसाधारण सबै लामबद्ध छन् । मधेशबासी पहाडी बन्धुहरु ‘हामी मधेशी, हाम्रो मधेश, हाम्रा माग पूरा गर’ भन्दै ऐक्यबतामा उत्रिएका छन् । थरीथरीका क्लबहरु र युवा समूहहरु क्रियाशील छन् । आन्दोलनलाई जीवन्त र संयमित बनाउनमा तिनको ठूलो हात छ । महिला सहभागिता रमितलाग्दो छ । यसबीच बन्दव्यापर ठप्प छ । जीवन अभावग्रस्त छ । होटलहरु बन्द छन् । शहरहरु उजाड देखिन्छन् । तैपनि आन्दोलन अडिग छ । न त्यसको आकार घ्ट्दो छ न त्यसको तेज सुस्ताउँदो छ ।
नाकाबन्दी वारिको, ढाल पारिको
वारिका आन्दोलनकारीहरुले नाकाबन्दी गरेका छन्, दिल्ली पारिपट्टि नाकाबन्दीको ढाल भएर खडा भएको छ । आन्दोलन लम्बियो । राज्यले उपेक्षापछि उपेक्षा र अपमानपछि अपमान गर्‍यो । दर्जनौ नागरिकको ज्यान गयो । आन्दोनकारीहरुमाथि तिनकै रगतका छिटा परेको संविधान थोपरियो । मधेशी चीत्कारले आकाश ढाक्यो, तैपनि सुनुवाइ भएन । र, राज्यमाथि दबाब बढाउने अभिप्रायले birgunjआन्दोलनकारीहरुले नाका छेके । प्रहरी दमनबाट जोगिने मनशायले ती दशगजामा बसे । केही सहानुभूति र समभाव तथा केही अहंको चोट र केही स्वार्थवश दिल्ली छद्म भेषमा नाकापारि हाजिर भयो । नाकाबन्दी गर्ने जो हो, त्यो खोल्ने पनि उही हो । समस्या हाम्रो घरभित्र छ । घर सफा गरे बाहिरबाट भन्किन आउने कीटपतङ्गहरु स्वत: गायब हुन्छन् । नाकाबन्दीको वास्तविक उपचार आन्दोलनले अघि सारेका हकदावीहरुको यथोचित सम्बोधन हो । माग सम्बोधन भएपछि जब आन्दोलकारीहरु घर फर्कन्छन्, ‘नेपलीलाई पीडा दिने अभिप्राय नभएको’ भन्ने मोदीवाणीको परीक्षा हुनेछ ।
माग ठोस छन्, माग बुझिएनन्
आन्दोलनकारीहरु भन्छन्— जी, हाम्रा मगहरु ठोस छन् । राज्यका कर्ताहरु, हिमवत् भेगका अत्यधिक बुद्धिजीवीहरु र मूलधारे मिडियाका थुप्रै सूचना सुराकीहरु भन्छन्— खै, मधेशका माग बुझिएनन् । केपी ओली र पुष्पकमलले दाहाल मधेश झरेर संयम र सहिष्णुता साथ आन्दोलनकारीका मुखबाट तिनका माग सुने शायद ती बुझिँदा हुन् । सिमाना किटान भएको आर्थिक सामथ्र्यसहितको स्वायत्त प्रदेश । जनसंख्याका आधारमा निर्वाचनक्षेत्र निर्धारण । समानुपातिक प्रनिधिनित्वसहितको समावेशीताको बन्दोबस्त । आमालाई नागरिकताको समान अधिकार । थरुहट प्रदेशको व्यवस्था । आन्दोलनमा सर्वत्र सुनिने माग वा दावीहरु यिनै हुन् । सोह्रबुँदेद्वारा संलग्नताबाट पाखा लगाएर मिथ्या वार्तामा अल्झाउँदै मधेशी मोर्चाका चित्तमा लगाएको ठेस वा अहंको चोट शायद त्यति ठूलो समस्या होइन ।
झन् तल धकेलियो मधेश
मधेश र पहाडी राज्यबीच भूगोलको दूरी जति छ, मनोविज्ञानको दूरी यसै पनि त्योभन्दा कता हो कता बढी छ । राज्यका अधिपतिहरुका मधेशतर्फ लक्षित उपहासजनक अभिव्यक्ति, विश्वासघाती कर्म, मिथ्या वार्ताहरुको नाटक, दिल्लीको उक्साहट भनी आन्दोलनलाई कलङ्कित तुल्याउने धृष्टता, दर्जनौ आन्दोलनकारीको हत्या र मधेशी अनेपाली र अदेशभक्त हो भन्ने अर्थ ध्वनित हुने मौसमी राष्ट्रवादको हुङ्कारले मधेशलाई झनै तल धकेलिदिएको छ । मधेश झनै तल धकेलिँदा स्वभावत: दिल्लीको नजिक पुग्ने खतरा हुन्छ । मौसमी राष्ट्रवादको नशामा लठ्ठ भएका सन्मान्य धकेलुवाहरुलाई यो अनिष्टको चेत नहुनसक्छ । आफ्ना वचन र कर्मका परिणतिहरुको पूर्वानुमान नगर्न हठ गर्ने इतिहासका अघोरी पात्रहरु सधैँ विशाद र पश्चातापको प्रतिक्षामा जिउँछन् ।
अनिष्टका सङ्कतेहरु
qptLxWgमधेश आन्दोलनमा संलग्न प्राय: सबै उमेर वयका नरनारीहरु आँखामा आँसु, हृदयमा गहिरा चोट र मस्तिष्कमा ससाना बम बोकेर आक्रोशको आगो ओकल्दै हिँडिरहेका छन् । तातो रगत भएका फाटफुट युवाहरु प्रश्न गर्न थालेका छन्— यतिका दिन यत्रो आन्दोलन भइसक्यो, तैपनि पहाडी राज्यका अहंकारी कर्ताहरु हामी मधेशीको समान मनुष्यत्व, स्वतन्त्रता र प्रतिष्ठा स्वीकार गर्न इन्कार गरिरहेका छन् । यी हठधर्मीसँग हामीले कति अनुनय–विनय गर्ने ? अब हामीले स्वतन्त्र मधेशका कुरा किन नगर्ने ? यसैसँग जोडिएको आक्रोशको अर्को आयाम पनि छ । ताता युवाहरु अधीर मुद्रामा आक्रामक अभिप्राय प्रकट गर्छन्— नि:शस्त्र आन्दोलनबाट फल प्राप्त नुहने भो, अब वाध्यतावश अलि कठोर बाटो पो रोज्ने हो कि † आन्दोलन लम्बिँदै जाँदा त्यसले अराजक रुप लिनसक्ने अथवा घुसपैठियाहरुद्वारा साम्प्रदायिक हिंसा भड्काइने खतरा त यसै पनि विद्यमान छँदैछ ।
हो, मधेश उग्र विष्फोटको संघारमा छ । राज्यका हर्ताकर्ताहरु मौसमी राष्ट्रवादलाई बिसाएर विवेक र दूरदर्शिताले काम गरुन् र मधेशको आक्रोशमय सन्तापको आगो निभाउन कृपापूर्वक आफैँ मधेश पाउकष्ट गरुन् ।
(कान्तिपुर दैनिकमा प्रकाशित छोटकरी संस्करको पूर्ण पाठ)
- 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. OK NEPAL.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger